देवघाट
हिन्दु धर्मावलम्बीको पवित्र तीर्थस्थल देवघाट चितवन, नवलपरासी र तनहुँ जिल्लाको सङ्गमस्थलमा रहेको छ । यो धाम कालीगण्डकी र त्रिशूली नदीको सङ्गम स्थल पनि हो । चितवनको नारायणगढबाट करिब सात किलोमिटर उत्तरमा रहेको यो धाममा विभिन्न देवदेवीका मन्दिर, संस्कृत पाठशाला, पीठाधीश पनि रहेका छन् । स्कन्द पुराण हिमबतखण्डको नेपाल महात्म्यमा उल्लेख भए अनुसार देबताको पनि देबता महादेब शिबले आफ्ना गणका साथ यहा बस्ने गरेकोले यस स्थलको नाममा देवता रहन गएको हो। पवित्रस्थल देवघाटधाम हिन्दूहरूको महत्त्वपूर्ण तीर्थस्थलका प्रयागहरु मध्ये आदिप्रयाग देवघाट धाम भएको विद्वानहरूले बताएका छन । माघे सक्रातिको दिन त्रिवेणी नुहाउनेको घुइँचो लाग्छ ।
भारतको गयामा पिण्डदान गर्दा जति पितृहरू खुसी हुन्छन् त्योभन्दा बढी देवघाट बेनीमा पिण्डदान गर्दा खुसी हुन्छन् । जीवनमा एकपल्ट काली नदीको दर्शन मानव भएर गरेको छैन भने त्यसका सबै प्रयासहरू निष्फल हुन्छन् भन्ने मान्यता रहेको छ । अन्य तीर्थमा सय हजार पटक स्नान गरेको पुण्य देवघाट वेणी संगम वा कृष्णा गण्डकीमा एक पटक स्नान गर्दा पुण्य मिल्दछ । मुक्तिधारा पनि भनिएको देवताहरू वर्षैपिच्छे माघे संक्रान्तिमा यस पवित्रतम देवघाटमा आएर विहार गर्ने, सभा गर्ने, स्नान गर्ने भन्ने कुरा शास्त्रमा उल्लेख गरिएको छ । माघे संक्रान्तिको दिन देवघाट स्थित संगममा स्नान गर्नाले अक्षय पुण्य र प्रसागमा स्नान गरेको भन्दा पनि बढी फल प्राप्त हुन्छ भन्ने धार्मिक विश्वास रहँदै आएको छ ।