लखन थापा गुफा
भनिन्छ रानी सती गएको केही समय पछि कफ्याकमा स्थानीय किसान धनदेउ गुरुङ्गले बारी जोत्दा एउटा शिलामा हलोको फालीले चोट लगाएको ठाउँबाट दूध र रगत बग्यो । त्यो जानकारी पाएपछि सिद्ध लखन थापाले रानी देवीको रुपमा उत्पत्ति भएको विश्वाश गरि तान्त्रिक बिधिबाट पूजा गरे । त्यसपछि देवी शान्त भइ उक्त शिलाबाट दूध र रगत बग्न छाड्यो ।जीवनकाल भरी अबिबाहित रहेका लखन सिद्ध लखन थापा मगर वृद्ध अवस्थामा पूजापाठ र पुजारीको जिम्मेवारी दाजुभाइका सन्तानलाई प्रदान गरेर तीर्थ गर्न चार धाम (काशी) गए । बृद्ध भैसकेका लखन थापा लामो समय सम्म घर नफर्केकाले उनको मृत्यु भएको हुन सक्ने अनुमान गरी घर परिवारले काजक्रिया गरे । काजक्रियाको काममा माइती आएका चेलीबेटी (दिदीबहिनी) घर फर्कँदा गाउँ नजिकैको तिउरे भन्ज्याङ्ग भन्ने ठाउँमा लखन थापासँग जम्काभेट भयो । आफ्नो काजक्रिया भएको सुनेर लखन थापा दुखी भइ आफ्नो घरमा नगई त्यहीँबाट उकालो लागे । उनी बक्रेश्वरीको जंगल हुँदै माथि तिर गए। त्यतिबेला वृद्ध अबस्थाका लखन थापाले भिमसेनपातीको लौरो(लठ्ठी) टेकेको र त्यो लौरो वक्रेश्वरी जंगलको माथिल्लो भागमा रहेको एउटा गुफा बाहिर गाडेको अबस्थामा भेटिएको हुनाले लखन थापा त्यही गुफा भित्र अलप भएको विश्वाश गरिन्छ । हाल त्यस गुफालाई सिद्ध लखन गुफाको नामले चिनिन्छ ।
लखन थापाले सिद्धता प्राप्त गरेको ठूलो शिला नजिकै उनी अलप भएको बिश्वास गरिएको सिद्ध गुफा रहेको छ । आफ्ना पूर्वज सिद्ध लखन अलप भएको बिश्वासमा मनकामना माईका पुजारी सन्तान (ल्हायो) मगरहरुले आजभोली उक्त ठाउँमा कूलपूजा गर्ने गर्दछन् । भनिन्छ सिद्ध लखन थापा चामत्कारिक क्षमताका थिए। त्यसैले उनी एउटै घडी, पला र समय ( मिति) मा एकैपटक एकभन्दा बढी ठाउँमा उपस्थित हुन सक्थे । गोरखाको सभामा उपस्थित रहेकै समयमा काशीमा डुङ्गा दुर्घटना भएकाले त्यहाँ उद्धार गर्न पुगेको, पाल्पा दरबारमा नाच हुन लाग्दा नर्तकीको कपडा फुस्किएको कुरा गोरखा बसेरै पत्ता लगाएको जस्ता बिषय बुझ्दा सही सत्य साबित भएको प्रसंग गोरखा बंशावलीमा उल्लेख गरिएको छ। हाल मोइ थान वा हालको मनकामना माई का पुजारी उन कै दरसन्तान इन्सान थापा मगर हुनुहुन्छ । उहाँ सिद्ध लखनको एक्काइसौँ पुस्ताका रहेको मानिन्छ ।