छिम्केश्वरी देवी
महाभारत पर्वत श्रृखलाको सबैभन्दा उच्च भागमा अबस्थित छिम्केश्वरी माई तन्हूँ जिल्लाको आँबु खैरेनी बजारबाट करिब २ घन्टाको यात्रा पश्चात सहजै पुग्न सकिन्छ। मनकामना देवीको ८ दिदी बहिनीहरु मध्ये छिम्केश्चरी माईलाई माहिली मानिन्छ। समुन्द्र सतह देखि २१३४ मीटरको उचाईमा रहेको छिम्केश्चरी थान परिसरमा मौसम अत्याधिक चीसो रहेको बेला हिंउ पर्दछ।
किंबदन्ती अनुसार छिम्का लेकमा देवी ईश्चरी बास बस्न थाले पछि यो लेकको नामाकरण छिम्केश्चरी रहन गएको मानिन्छ। छिम्केश्चरी कालीको रुप मानिन्छ। गोरखाको मनकामना, चितवनको ईच्छाकामना देवी रहेकै पहाड सगै आमने सामने रहेको यो पहाडमा बिराजमान छिम्केश्वरी माईलाई त्रिशुली, मर्स्याङदी र सेती नदीले बेरेर अहोरात्र जल अभिषेक गरी रहेको जस्तो देखिन्छ।
धार्मिक दृष्टिकोणले बिशिष्ट महत्व भएको यो देवीको दर्शन गर्नाले चाहेका आटेका तर पूर्ण हुन नसकेका आफ्ना अधुरा कुराहरु माताको कृपाले बिना बिध्न बाधा सजिलैसँग पूरा हुने गर्दछ भन्ने बिश्वास भक्तजनहरु माझ रहेको छ। मनमोहक हिमाच्छादित हिम श्रृखलाहरु धौलागिरि, मनास्लु, गणेश, लाङटाङ, दोर्जेलाक्पा र महालङगुरलाई एक साथ नियाल्ने पाउने अदभुत स्थल समेत हुन छिम्केश्ररी मन्दिर परिसर। एकै ठाउँबाट हिमाल, पहाड र तराईको लोभलाग्दो दृश्य अबलोकन गर्न सकिने भू-स्वर्ग नै मान्न सकिन्छ छिम्केश्चरी क्षेत्रलाई। जसका कारण दर्शनार्थीहरुको अलबा पर्यटकहरु पनि यसको आनन्द उठाउन हसिन पसिन हुदै ओईरो लागेको देखिन्छ। सुँगुरको बली खाने आफ्ना सगैको बहिनीसँग रिसाएर टाउको लुकाएर ढाड उल्टा फर्काएर बसेकी हुन भन्ने किंबदन्ती पनि प्रचलित छ। सुरुमा मगर पूजारी रहेता पनि हाल भने गुरुङ थरका पुजारीले दैनिक पूजापाठ गर्ने गर्दछ। पूर्णे र नबरात्रीको बेला भक्तजनहरु पूजापाठका निम्ति लर्को लाग्ने गर्दछ भने नेपाली नयाँ बर्ष बैखाश १ गते र फाल्गुन पूर्णे होलीको दिन भब्य मेला लाग्ने गर्दछ।