इच्छाकामना देवी
चितवनको इच्छाकामना गाउँपालिका वडा नं ५ मा अबस्थित ईच्छाकामना देवी मान्यता अनुसार मनकामना देवीको ८ दिदी बहिनीहरु मध्ये अन्तरी हुन। चितवनको महाभारत पर्वत श्रृङ्खलामा अबस्थित देवी थान समुन्द्र सहत देखि १८ सय मीटरको उचाईमा रहेको छ। चितवनको मुग्लिङ र फिस्लिङ बजारबाट सडक मार्गबाट सहजै पुग्न सकिने सो स्थल धार्मिक दृष्टिकोणको अलबा पर्यटकीय दृष्टिले समेत आकर्षक र मनमोहक देखिन्छ।
इच्छाकामना माईको मन्दिरमा साचो मनले न्यास धान गरी पूजा पाठ गरे मनको ईच्छा पूरा हुने बिश्वास गरिन्छ। शुद्ध मनले चिताएर पूजा गरे बिशेषत सन्तान नहुने दम्पत्तीलाई सन्तान र जीबन साथीको खोजीमा रहेकाहरुलाई योग्य वर वा वधु पाउन सकिन्छ भन्ने सदियौ देखिको जनबिश्चास रहेको पाईन्छ। चितवनको इच्छाकामान देवी गोरखाको मनकामना देवी आमने सामने गरी त्रिशूली नदी वारी पारी रहेको महाभारत पर्वतकाे टाकुरामा बिराजमान रहेको छ। गोरखाको दक्षिणी सिमानाको किल्ला मनकामना थियो भने इच्छाकामना मकवानपुरको उत्तरी किल्ला थियो। जस अनुसार इच्छाकामना मन्दिरको स्थापना मकवानपुरे सेन राजाले सामरिक महत्वको यस स्थानमा मन्दिर स्थापना गरेका हुन भन्ने कुरा यसको ऐतिहासिकताको श्रोतलाई केलाउदा प्रष्टिन्छ । सम्भवत: पाल्पाली राजा मुकुन्द सेनले यी देवीको प्रतिष्ठापन गराएको सम्भाबना बलियो देखिन्छ। अर्को भनाई अनुसार १९६५ सालमा स्थानीय मनिराम दर्लामी गुरुङ गोठाला जाँदा देउता देखेको भन्दै पछि ढुंगाले बारेर पूजा गरी मन्दिरको नामाकरण गरी स्थापना गरेको बताईन्छ।
किबदन्ती अनुसार, एक पटक मनकामना र इच्छाकामनाबीच को ठूलो हो भन्ने विषयमा बिबाद परेछ । इच्छाकामनाले मनकामनालाई उनको मन्दिरमा सुँगुर पनि बलि चढाइयोस् भन्ने श्राप दिएछन । मनकामनाले पनि इच्छाकामनालाई उनको मन्दिरमा कुनै पनि भक्तहरू सजिले पुग्न नसकुन भन्ने श्राप दिएछन र ईच्छाकामनाले पनि तिम्रो मुखै हेर्दिन भनेर मनकामनालाई पछाडि फर्किएर बस्छु भनेछन।
भएको पनि त्यस्तै देखिन्छ। इच्छाकामना मन्दिरको मूल ढोका मनकामनालाई पछाडि पारेर राखिएको देखिन्छ। र मनकामनाको तुलनामा एकदमै कम भक्तजनहरु आउने गरेको देखिन्छ। भक्तजनहरुले भाकेको मनको भित्री ईच्छा पूरा गर्ने सिद्ध देवीको रुपमा भक्तजनहरु माझ ईच्छाकामना देवी परिचित छिन । ईच्छाकामना मन्दिरमा परापूर्बक कालदेखि मंसिर ठूलो पञ्चमीका दिन भव्य मेला लाग्ने प्रचलन रहेको पाईन्छ । मन्दिर परिसरमा फूलको डोली ल्याउने र भाकल पूरा गर्न बली दिनेहरुको चर्को भीड लाग्ने गर्दछ। सो दिन भेला भर्न टाढा टाढाबाट दर्शनार्थी र श्रद्धालु भक्तजनहरु आउने गर्दछ । शक्तिपीठ देवीको रुपमा भक्तजनहरु माँझ प्रख्यात इच्छाकामना मन्दिर क्षेत्र चितवनको हिल स्टेशनको रुपमा समेत पर्यटकीय आकर्षण पस्केर सबैलाई लोभ्याउने गरेको छ ।