गाेरखकालि देबी
गोरखकाली माईलाई मनकामना देवीको ८ दिदी बहिनीहरु मध्ये साहिली मानिन्छ। गोरखाको सदरमुकाम गोरखामा रहेको प्रसिद्ध शाहबंशिय गोरखा दरबारकै पश्चिम दिशामा देवी गोरखकालीको मन्दिर रहेको छ। गोरखकालीलाई नेपालको राजा शाह बंशको कुल देबी मानिन्छ। बि. सं. १६१६ सालमा द्रब्य शाहको राज्याभिषेकपछि गोरखकालीमा बिशेष पूजाको सुरुवात भएको हो। सुरुमा चैते दसै र बडादसैमा मात्रै पूजा गर्ने चलन भएतपा पनि गिर्बाणयुद्ध राजा भएपछि प्रत्येक महिनाको २ वटा अष्टमीका दिन पूजा हुने ब्यबस्था गरियो। गोरखकाली मन्दिरमा भट्टराई र अर्याल थरका पूजारीले भित्री पूजा गर्दछन भने अन्य तिथिमा खनाल, पाण्डे र पन्त थरका पूजारीले पूजा गर्दछन। दैनिक बिधिपूर्बक पूजाआजा हुने मन्दिरमा बिशेषत: बडा दसै र चैतेदसैमा भब्य पूजा गरिन्छ।
अलौकिक शक्तिका साक्षत् शक्ति स्वरुपा मानिने देवीलाई प्रतीक स्वरुप गोरखामा कास्की, लम्जुङ हुदै ल्याएको किंबदन्ती पाईन्छ। लम्जुङका राजा द्रब्य शाहले गोरखा जिती सके पछि आफ्ना पहिलाको लम्जुङ दरबारबाट देवीको शक्तिलाई चोरेर गोरखा ल्याएको भन्ने किंबदन्ती पाईन्छ।
बंशावली अनुसार भने देवी शक्तिको स्वरुपलाई प्रतीक बनाई बल्दो दीपमा जागा गराई गोरखा दरबारको पूजाघरमा तेस्रो पटकको प्रयासमा भित्र्याउन सफल भएको मान्यता रहेको छ। यस कारण गोरखकालीको प्रतीकलाई गोप्य पूजाकोठामा राखिने चलन हुदा प्रत्यक्ष दर्शन गर्न भने पाइदैन। दर्शनार्थी र भक्तजनहरुले मन्दिर खण्डको दक्षिण तर्फको ढोकामा पूजाआजा गर्ने चलन छ। गोरखकालीको नामले प्रसिद्ध यस मन्दिर पूर्वाभिमुख रहेको छ र मूल दरबारकै बास्तुशैली अनुसार ४ तला बनाएर यसको छानामा भने धातुको गजुर राखेर मन्दिरको झल्को दिएको देखिन्छ। शाह बंशिय धार्मिक बिरासतको एउटा जिउदो चिनोको रुपमा रहेको मानिने यस मन्दिरकै देवी कृपाको कारणले शाह बंशिय राजा पृथ्वी नारायण शाहले नेपाल एकिकरण गरेका हुन। काली देवीको भक्ति साधना गरे ईच्छित मनोकांक्षाहरु सहजै प्राप्त हुने हुदा आम भक्तजनहरुमा देवीप्रति अपार श्रद्धा र बिश्वास देखिन्छ। गोरखकाली मन्दिरमा बिधिबत् रुपमा राखिएको जमरा काठमान्डौ हनुमान ढोकामा फूलपातीका दिन भित्र्याए पछी बल्ल सर्बसाधरणलाई दशै शुरु भएको जनाउ दिने चलन अद्यापी कायमै छ।