मनकामना देवी
चितवनको ईच्छाकामना मन्दिरको सिधा आमने सामने डाडाको टाकुरामा रहेको गोरखाको प्रसिद्ध शक्तिपीठ मनकामना पबित्र पाबन पुण्यदायीनी, मुक्तिदायीनी, पापनाशिनी त्रिशुली र मर्स्याङदी नदीको जलराशीले घेरेर जल अभिषेक गरेको जस्तो देखिन्छ। र आफ्नी कान्छी बहिनी त्रिवेणीलाई माया गरेर प्रेमबश काखमा लपेटी रहेको देखिन्छ। हुन पनि हो मनकामनाकै पाउ त्रिशुली मर्स्याङदी नदीको पबित्र संगम रहेको किनारमा त्रिवेणी देवी बिराजमान छिन। मनको कामना पूरा गरिदिने देवीको रुपमा परिचित मनकामना प्रसिद्ध आठ शक्ति स्वरुपमा दिदी बहिनी देवीहरु मध्ये काहिली मानिन्छ।
मनकामान मन्दिरको स्थापनाको प्रचलित किंबदन्ती अनुसार अहिले मनकामना मन्दिर रहेको काफ्याक गाउँकै धनदेउ गुरुङले खेत जोत्ने क्रममा कालो ढुङ्गा हलोको सियो लागेर दुध र रगत बग्न थाले पछि साक्षात भगवान मानेर थान बनाइ पूज्न शुरु गरे । कालान्तरमा यही देवीनै मनकामना देवीको रुपमा पूजित भए। प्रचलित अर्को किंवदन्तीका अनुसार आफ्नी रानीलाई भगवतीको साक्षात अबतारको रुपमा देखे भेटेका राजाको तत्कालै मृत्यु भएपछि राजाको साथ सती जान लागेका रानी लिलावतीले आफ्ना विश्वासिला दरवारिया कर्मचारी लखन थापालाई म फेरी तिम्रै गाँउमा प्रकट हुनेछु भनेका थिए । नभन्दै करिव सात महिना पछि काफ्याक गाउँका धनदेउ गुरुङले वारी जोत्ने क्रममा हलोको सियो अड्केर ढुङ्गाबाट रगत र दुध बग्न थालेपछि लखन थापालाई रानीको बचन याद आयो । र उनले रानी नै देवीका रुपमा प्रकट भएको सम्झेर माईको थान बनाएर पूज्न थालेको भन्ने किंवदन्ती सर्व प्रचलित छ ।
लखन थापाले थान बनाएर पूजाको थालनी गरेको हुँदा उनकै सन्तान दरसन्तान नै यस मन्दिरको पूजारी बन्ने परम्परा रहन गएको हो । हाल पनि यस मन्दिरमा उनै लखन थापाका सन्तान पुजारी रहेको छ । फेरि अर्को किंबदन्ती अनुसार गोरखाको राजा पृथ्बी नारायण शाहले मनकामना देबीको भाकल पूरा गरी युद्ध गर्दा काठमाण्डौ उपत्यकालाई जित्न सकेका हुन त्यस पश्चात देबीको मन्दिरमा स्वंय रानीको गरगहना अर्पित गरी पुर्ननिर्माण गरेका हुन भन्ने लोकोक्ति रहेको छ। दैनिक नित्य पूजा मगर पुजारीलेनै गर्छन भने बर्षको मूल गुठी पूजाको पूजा अनुष्ठान भने काठमाण्डौ झ्वाबहालका बौद्ध बज्रायानी बज्राचार्य थरका पुजारीले मात्रै गर्ने गर्दछन। मनकामना दर्शन गर्न मनकामना केबुलकार संचालन हुनु भन्दा अगाडि मुग्लिङ र आबुखैरेनीबाट पैदल यात्रा गरेर भक्तजनहरु मनकामना देवीको दर्शन गर्न पुग्थे। अहिले कुरिनटार चेरेसबाट २०५५ सालबाट संचालित मनकामना केबुलकारबाट १० मीनेटमे सजिलै पुग्न सकिने हुदा बर्षमा लाखौ भक्तजनहरु देबीको दर्शन गर्न मनकामना पुग्ने गर्दछन। अहिले मुग्लिङ, कुरिनघाट, चेरेस ,आँबुखैरेनी, गोरखा ३ किलो , गोरखा १३ किलोबाट पनि सडक बाटो खोलिएकोले मोटरबाट पनि मनकामना सम्म सहजे पुग्न सकिन्छ।