प्रसिद्ध शक्तिपीठका रूपमा रहेका गाेरखा  जिल्लामा पर्ने मनकामना देवी र देवी स्वयंका दिदी बहिनी मानिने अन्य ७ देवी सम्मिलित ८ देवीहरूकाे परिक्रमा तीर्थ यात्रा मार्फत धार्मिक पर्यटन प्रबर्द्धन र बिकास गर्ने साेच स्वरूप याे वेवसाइट सञ्चालनमा ल्याएकाे हाे । देवीपथ धार्मिक परिपथ अवधारणाकाे परिकल्पनाकार सामाजिक तथा धार्मिक अभियन्ता श्री राम बहादुर लामा हुनुहुन्छ । बृहत् त्रिवेणी क्षेत्र धार्मिक सर्किट विकास अभियान (त्रिवेणी–मनकामना–इच्छाकामना–छिम्केश्वरी–गाेरखकाली धार्मिक सर्किट) काे संयाेजन र व्यवस्थापनमा यस अभियानले धार्मिक पर्यटन केन्द्रित एउटा सामाजिक उद्यमकाे रूपमा बिस्तारित हुन बिभिन्न गतिबिधिहरू सञ्चालित गरेकाे छ । नागरिक समाज तथा तत् तत् मन्दिर समिति र स्थानीय तहकाे त्रिपक्षीय सहभागितामा सञ्चालित यस अभियानकाे अभिष्ट भनेकाे हाम्राे सम्पदा, संस्कृति र सभ्यताप्रति सम्मान  संरक्षणकाे भाव जागृत गर्दै स्थानीय क्षेत्रमा धार्मिक पर्यटन मार्फत राेजगारी सृजना र आर्थिक बृद्धि गर्नु नै हाे । परिक्रमा तीर्थयात्राकाे बिकास र बिस्तारकाे लागी सराेकारवाला सबैसंग बहस, पैरवी र पहलकदमी गर्नका निम्ति डिजिटल प्लेटफर्मकाे रूपमा याे साइट सञ्चालनमा ल्याएकाे छ । 

Concept & Connection

गोरखा जिल्लाको शहिद लखन गा.पा.मा पर्ने प्रसिद्ध शक्तिपीठ मनकामना देवीको सहोदर दिदी बहिनीको रुपमा रहेको अन्य प्रसिद्ध शक्तिपीठ देबीहरु जो मनकामना मन्दिरको भूभागसँग सिमा जोडिएका चितवन, तन्हूँ र गोरखा जिल्लाकै पहाडी टाकुरामा अबस्थित छन। स्वंय देबादिदेब महादेव शिबले उत्पन्न गरेका त्रिशुली नदी र उच्च हिम खण्डबाट बग्दै आएकी मर्स्याङदी नदीको पबित्र संगम स्थल मुग्लिङ घाटको जलले ८ वटै देबीहरुले पाउ धोएको परिदृश्य त्यहाको भौगोलिक अबस्थितिले बोध गराउदछ। आफ्नो किल्ला शहर सुरक्षाको लागि तान्त्रिक मान्यतामा आधारमा केन्द्रित रही काठमाण्डौ उपत्यकाका लिच्छबी राजा गुणकामदेवले स्थापना गरेका क्षेत्रपाल देवी अष्ट मातृकाको शैली र सोच अनुसार नै गोरखाका शाहबंशीय राजा पृथ्वीनारायण शाह र उनका पूर्बजहरुले तत्कालिन गोरखा दरबारको सिमाना जोडिएका भेगहरुमा परापूर्बक कालदेखि नै माई थानका रुपमा रहेका देबीहरुलाई ८ क्षेत्रपाल देवीका रुपमा पुर्नस्थापित गरेर प्रसिद्ध तुल्याए। काठमाण्डौ उपत्यकाका राज्य जित्न यी देबीहरुको भाकल गरी शक्ति आर्जन पश्चात युद्ध जितेका भनाई पाईन्छ। सबै आठ दिदी बहिनीहरुको आ-आफ्ना बिशिष्ट र  मौलिक धार्मिक मान्यता र महत्व देखिन्छ। जल, जमिन र जनको त्रि-कोणिय स्तम्भको बिशिष्ट मान्तयामा पूजित यी आठ दिदी बहिनीहरुको महिमा र गरिमा मात्र देबी शक्तिमा आशक्त शाक्त सम्प्रदायका भक्तहरु मात्र होईन निराजन निराकार शैब, बैष्णब, गोरखनाथ पराम्परा देखि बज्रायान बौद्ध मार्गीहरु समेतमा समान सम्मान र श्रद्धा भएको पाईन्छ। त्रिशुली र मर्स्याङदी नदीको पबित्र संगम स्थलको किनारमा अबस्थित त्रिवेणी मन्दिरको गर्भगृहमा रहेको कहिल्यै नसुक्ने जलकुण्डको अभिमन्त्रित जल लगी मनकामनाको पर्ब पूजा गरिने प्रचनल प्राचिन काल देखिनै अद्यापी देखिन्छ। त्रिवेणी देबीको जल अर्पण पश्चात मात्र मनकामना देवीको पूजा पूर्ण मानिने र गरिएका भाकल पूरा हुने पराम्परा छ। यस्ता साक्षात सत् का जीबन्त धरोहरका रुपमा रहेका देवीहरुलाई एक अर्कामा समेटी परिक्रमा तीर्थ यात्राको एउटा अपूर्ब मौका प्राप्त गर्न सक्दछ।

परिक्रमा तीर्थ मात्र मन्दिर वा देवालयको यात्रा मात्र होईन। प्रत्येक भक्तमा निहित सकारात्मक उर्जाहरुलाई शुद्धिकृत गर्दे प्रष्फुटन गराउने प्रक्रिया हो। आफ्नो आस्थाप्रतिको सत् समर्पण हो। प्राचीन पराम्परा प्रतिको हाम्रो सम्मान हो। पुण्य प्राप्ति र मुक्तिको निम्ति उपासना हो। सदियौ देखि प्रचलित धार्मिक अनुष्ठान हो। यसका साथै तीर्थाटन परिक्रमा धार्मिक यात्राले हाम्रो सम्पदा, सभ्यता र संस्कृतिप्रति दिल र दिमागबाटै प्रत्यक्ष साक्षात्कर गर्ने  अपूर्ब अबशर समेत दिलाउदछ। जसले गर्दा हाम्रो धर्म र सनातन संस्कृतिको संरक्षणलाई समेत मदत पुरयाउदछ।

त्रिशुली र मर्स्याङ्दी नदीको पबित्र संगमस्थल मुग्लिङ वरपर रहेका यी ८ दिदीबहिनी शक्तिपीठ देवीहरु चितवन, गोरखा र तन्हूँ जिल्लामा अबस्थित रहेका छन। आठ दिदी बहिनी देवीहरु मध्ये गोरखा जिल्लाको शहिद लखन गाउँपालिकामा त्रिवेणी र मनकामना देवी रहेका छन भने चितवनको ईच्छाकामना गाउँपालिकामा ईच्छाकामना देवी रहेका छन। यसै गरी तन्हूँ जिल्लाको आबु खैरेनी गाउँपालिकामा छिम्केश्वरी, बूढीकन्या, अकला र अन्नपूर्ण देवी रहेका छन भने गोरखा जिल्ला कै गोरखा नगरपालिकामा गोरखकाली देवी रहेका छन। यी ८ दिदी बहिनी देवीको परिक्रमा तीर्थ यात्रा गर्दा चितवनको मुग्लिङ, गोरखा जिल्लाको मनकामना, तन्हूँको आबुखैरेनी र गोरखा जिल्लाको सदरमुकाम गोरखा जस्ता बजार छिचोल्नु पर्ने हुन्छ। यसको अलवा यी बजारको क्षेत्रहरुमा अन्य प्रसिद्ध धार्मिक स्थल र सम्पदाहरु रहेका छन। जसमा मुग्लिङ महादेवथान, मनकामना नजिक सिद्ध लखन गुफा, बक्रेश्वर महादेव गुफा, आबु खैरनी नजिक छाब्दी बराहि, गोरखा बजार नजिक गोरखा दरबार आदि रहेका छन।

शाक्त पराम्पराका साक्षत शक्ति स्वरुपा यि देवीहरुमा हिन्दू भक्तजनहरुको अपार श्रद्धा र आस्था रहेका देखिन्छन। यसको अलवा समुन्द्र मन्थन पश्चात कालकुट बिष सेवन गरेका शिब भगबान हिम पर्बत श्रृखला जान लाग्दा एक रात बास बसेको बासु नागको भीमकाय बिशाल चट्टान त्रिशुली नदीको तटमा रहेको छ। जसको कारण यो क्षेत्र शैब परम्पराका उपासकहरुको निम्ति पनि पबित्र पावनिय छ। आदि प्रयागराजका रुपमा रहेका देबघाटबाट भारतको गंगा तर्फ बग्ने नारायणी नदीको शिर रहेको  त्रिशुली र मर्स्याङदी नदीको  पबित्र संगम स्थल रहेको कारण बैष्णब मार्गीहरुको निम्ति यो बन्दनीय छ। यसै गरी मनकामनाको मन्दिरमा बार्षिक पर्ब पूजा हुदा गरिने बौद्ध पराम्पराका बज्रयान तान्त्रिकहरुको सहभागिताले गर्दा बज्रायान बौद्धमार्गीहरुको उपस्थिति पनि अनिबार्य मानिन्छ। यसै गरी गोरखाको गोरखकाली मन्दिरकै समिप गोखनाथ सम्प्रदायको गुरु गोरखनाथको बासस्थल रहेको कारण नाथ सम्प्रदायको आस्थाको धरोहर मानिन्छ। यसर्थ हिन्दू, बौद्ध, नाथ सम्प्रदाय, काठमाण्डौ उपत्यकाको अष्ट मातृका पराम्परासँगको सम्बन्ध, प्रकृति पूजक किराती र रैथाने आदिबासी गुरुङ, मगर, नेवारको सिमे भूमे पूजा सबैको साझा स्थल र सम्पदा रहेका कारण यी क्षेत्र आध्यात्मिक तथा धार्मिक यात्राको लागि पुण्य भूमिको रुपमा परिचित छन। बार्षिक २० लाख भन्दा बढी भक्तजनहरुले यी मन्दिरहरुमा भ्रमण गर्ने आधिकारिक आँकडा रहेको छ।