त्रिवेणी भगवती
न माधवसमो मासो न कृतेन युगं समं, न च वेदसमं शास्त्रं न तीर्थं गंगया समं।
(अर्थात बैखाख समान कुनै महिना छैन, सत्ययुग समान कुनै युग छैन, बेद समान कुनै शास्त्र छैन
र गंगा समान कुनै तीर्थ छैन।)
sf]स्कन्द पुराण
पबित्र पाबन पुण्यदायिनी मुक्तिदायनी नदी त्रिशुली र मर्स्याङदीको संगम स्थलको किनारमा अबस्थित त्रिवेणी देवी मनकामना देवीको कान्छी बहिनीकाे रुपमा भक्तजनहरु माझ परिचित छिन। जुन चितवनको मुग्लिङ बजार पारी गोरखा जिल्लामा अबस्थित रहेको छ। साक्षत् शक्ति स्वरुपा मानिने त्रिवेणी देवीको गर्भ गृहमा कहिले नसुक्ने जल कुण्ड रहेको छ। भनिन्छ यस जलकुण्डको जल लगी मनकामनाको पूजा गर्दा मात्र मनकामनाको पूजा पूर्ण मानिन्छ र भक्तले गरेका भाकल पूरा हुन्छ। एक पटक मनकामना देवीको मूर्तिमा लगातार पसिना आईरहन्छ। अनेक बिधि बिधान र पूजापाठ गर्दा समेत पसिना नरोकिदा काठमाण्डौ उपत्याकाको बज्रायान बौद्धमार्गी पुजारीलाई आमन्त्रण गरी बज्र भैरबी तान्त्रिक साधनाका साथ त्रिवेणी मन्दिरको गर्भगृहमा रहेको जलकुण्डको जल लगी पूजापाठ गर्दा पसिना रोकिन गई ठूलो अनिष्ट टरेको थियो भन्ने भनाई रहेको छ । तत्पश्चात त्रिवेणीको जल लगी मनकामनाको पूजा गर्ने चलन चलेको मानिन्छ।
मनकामानको गुठी पूजा गर्दा स्वंय मनकामनाको मन्दिरको गर्भगृहमा त्रिवेणी भगबतीको थपना गरी देवीबाट ल्याएको जल अभिषेक गरी तान्त्रिक बिधिपूर्बक पूजा अनुष्ठान गर्ने पराम्परा आज पर्यन्त जारी छ। यस अतिरिक्त गोरखाबाट लगेको फूलपाती काठमाण्डौ हनुमान ढोकाममा भित्र्याई बडा दशैको शुभारम्भ गर्ने क्रममा मनकामना ल्याईपुरयाउदा त्रिवेणीको जलले शुद्धिकृत गर्ने प्रचनल रहेको छ।
गोरखाका राजा पृथ्बी नारायण शाहले मनकामना मन्दिरको गुठी श्रेस्ता कायम गर्दा सगै त्रिवेणी मन्दिरको पनि गुठी श्रेस्ता कायम गरेका थिए। त्रिवेणी देवीको स्थापनाका सम्बन्धमा मुख्यत दुई थरी किंबदन्ती प्रचलित रहेको देखिन्छ। जस अनुसार एक पटक हरिबोधिनी एकादशीका दिन यस भेगका सम्पूर्ण देवदेवीहरु त्रिशुली नदीको संगम स्थलमा रात भर जाग्रम भई बिहानी पख गंगा स्नान गरी आ-आफ्नो थानमा फर्किने चलन रहेको थियो। एकपटक सम्पूर्ण देबीहरु बिहान पख स्नान गरी फर्किने क्रममा कान्छी बहिनी त्रिवेणी फर्किदा केहि ढिलो भई कुखुराको भाले बासेछ। यसरी कुखुराको भाले बास्दा अपशुकन हुने भयो भन्ने लागेर कान्छी बहिनी यही नदी किनारको जलकुण्डमा बस्नु भएछ। त्यसपछि देवीको थपना भएको मानिन्छ। अर्को किंबदन्ती अनुसार स्वर्गको राजा ईन्द्रको शक्ति स्वरुपमा रहेकी इन्द्रयणी नबदुर्गा देवी देवासुर संग्राममा असुरहरुलाई बध गरी बिजयी भएर फर्किदै गर्दा कुखुराको भाले बासेको कारण पृथ्वीमै बस्छु अब स्वर्ग फर्किन्न हुदैन अपशुकन लाग्यो भनेर त्रिवेणी भगबतीको स्वरुपमा यही बसेको बिस्वास गरिन्छ। छ। देबीको प्रताप र शक्तिकै कारणले गर्दा गोरखाको राजा राम शाहकी रानी लीलावती साक्षत मनकामना देवीको रुप थिईन। उहा समेत देवीको रुपमा बाघमा सवार भई त्रिवेणी दर्शन गर्न आउथे भन्ने चलन रहेको छ।
गोरखा जिल्लाको सबैभन्दा होचो भूभाग ( ४०० मीटर ) मा अस्थित त्रिवेणी मन्दिर गोरखा जिल्लामै पर्ने प्रसिद्ध शक्तिपीठ मनकामना देवी दर्शन गर्ने प्रबेशद्धारको रुपमा रहेको छ। यहा गुरुङ थरका पूजारीले नित्य पूजापाठ गर्दछन। त्रिवेणी माईको दर्शन, पूजापाठ र भाकल बुझाउन भक्तजनहरु बिशेषत हरिबोधिनी एकादशी, माघे संक्रान्ति, बैशाख पूर्णिमाका दिन भीड लाग्ने गर्दछ। र हिजोआज भारतीय दर्शनार्थीहरु समेत माताको दर्शन गर्न आईरहेको देखिन्छ। यस देवी थानमा हरिबोधिनी ठूलो एकादशीको दिन भब्य मेला लाग्ने गर्दछ। बडा दशै, चैते दशै, मंसिर र बैशाख पंञ्चमीको दिन मनकामनामा त्रिवेणी देवीबाट लगेको जल चढाउने प्रचलन रहेको छ। त्रिवेणी देवीको अर्को अदभुत बिशेषता यो छ कि पितृ पक्षमा जब सबै देवताहरु शयनको लागि जान्छन। र बिधिबत् पूजा पाठ चल्दैनन। त्रिवेणी देवी मात्र यस्तो देवी हुन जो सबै भक्तजनहरुलाई आशिर्बाद र कृपा दिन खुल्लै रहन्छिन। जसलाई जति चाहिन्छ देवीको भण्डार खुलै रहन्छन। बिना स्वीकृति, बिना अनुमति देवी माताबाट मन चाहेको कृपा र आशिर्बाद लिन छुट रहेको बिश्वास गरिन्छ। तसर्थ पनि के बृद्ध, के जबान, के बालक, के महिला, के पुरुष सबै रंग र ढंगका भक्तजनहरुका निम्ति त्रिवेणी देवी प्रियकर लाग्छ।