सिराइचुली

चितवन जिल्लाको सबैभन्दा अग्लो ठाउँको रुपमा परिचित चितवनकै शिर शिराईचुली ईच्छाकामना गाउँपालिकाको वडा नं १ मा अबस्थित रहेको छ। यो समुन्द्री सतह देखि १९४७ मीटरको उचाईमा रहेको यस स्थलबाट बिहान सूर्योदयको दृश्य देखि साँझमा सूर्यास्तको मन हर्ने सुन्दर दृश्य अबलोकन गर्न सकिन्छ। महाभारत पर्बत श्रृङलमा पर्ने सिराईचुलीबाट चितवनको समथर तराईका फाँट देखि छिमेकी जिल्लाहरु धादिङ, गोरखा, मकवानपुर र नबलपरासीका सम्पूर्ण भूभाग देखि काठमाण्डौ नाकढुङगाका दृश्य समेत  हेर्न सकिन्छ। धौलागिरि, अन्नपूर्ण, माछापुच्छ्रे, लामटाङ, गणेश, मनासलु लगायतका हिम श्रृङखलाहरुको दृष्टिपात गर्न सकिन्छ। बसन्त ऋतुमा लालीगुरासका फूलहरुले ढकमक्क ढाक्ने यस स्थलमा बर्षेनी आन्तरिक तथा बाहय पर्यटकहरुको संख्या बढिरहेको पाईन्छ। बिशेष गरेर यहा घुम्नको लागि  अक्टोबर देखि डिसेम्बर सम्म मौसम उपयुक्त मानिन्छ। धादिङ जिल्लाको बेनीघाट रोराङ गाउँपालिकामा पर्ने काठमाण्डौबाट मुग्लिङ तर्फको राजमार्गको हुग्दी खोला भन्ने स्थलबाट करीब दुई घण्टाको मोटरबाटोको यात्रापछि हात्तीबाङ पुगिन्छ। त्यहाबाट करिब डेढ घण्टाको पैदल हिडेर सिराईचुली पुग्न सकिन्छ। भने अर्को रुट भनेको चितवनको कालिका नगरपालिकाबाट चितवनको पुरानो सदरमुकाम उपरदाङगडी हुदै सवारी साधनबाट हात्तिबाङ सम्म आएर त्यहाबाट पैदय यात्राबाट पुग्न सकिन्छ। हात्तिबाङमा सुबिधा सम्पन्न होम स्टेको ब्यबस्था रहेको छ। सौराहबाट शक्तिखोर हुदै चेपाङ पदमार्ग अमलाचुली-उपरदाङगढी-चिसापानीटार-सौलाभन्ज्याङ हुदै हात्तिबाङबाट सिराईचुली पुग्न सकिन्छ।  आबश्यक पूर्बाधारको बिकास गरेर आकर्षक हिल स्टेशनको रुपमा बिस्तार गर्न सकिने यस स्थलमा प्याराग्लाईडिङ संचालनको समेत सम्भाबना रहेको देखिन्छ। सिराईचुली क्षेत्रमा सिद्धबाबाको ऐतिहासिक मन्दिर रहेको छ। नया बर्ष बैशाख १ गते यहा मेला पनि लाग्ने गर्छ।