उपरदाङगढी
चितवन जिल्लाको पुरानो सदरमुकामको रुपमा रहेको उपरदाङगडी ईच्छाकामना गाउँपालिकाको वडा नं ७ मा अबस्थित रहेको छ। सन् १९६० को दशकको शुरुसम्म उपरदाङगढी चितवन जिल्लाको रुपमा रहेको पाईन्छ भने विक्रम सम्बत २०१६ सालसम्म महत्वपूर्ण सरकारी अडडा र अदालत सबै यसै क्षेत्रमा रहेका थिए। २०१८ पछि सदरमुकाम सरेको हो। सो भन्दा अगाडि सम्म उपरदाङगढी र यसको नजिकै रहेको सेरबासमा सदरमुकाम रहेको थियो। ऐतिहासिक यो किल्ला समुन्द्रको सतहदेखि १२७५ मिटर उचाईमा पर्ने यो किल्ला ६ सय ३९ स्क्वायर मिटर क्षेत्रफलमा फैलिएको छ।
तत्कालिन बाईसे-चौबिसे राज्य एकीकरणका बेला अंग्रेज फौज बिरुद्धको युद्धको समयमा नेपाली भूमिको रक्षाको लागि सन १८०० को शुरुतिर पृथ्बीनारायण शाहका नाति तथा बहादुर शाहका छोरा शत्रुभञ्जन शाहले निर्माण गरेको देखिन्छ। बाह्रै मास जाडो हुने यो स्थलमा आकाश सफा भएको बेला मनास्लु, गणेश हिमाल, अन्नपूर्ण हिमाल प्रष्टसँग देख्न सकिन्छ। जुरेली, रानी चरी, कुथ्रेके, तोरीगाडे, चाँचर, हुँचुल, न्याउली, भ्याकुर जस्ता पहाडी भू-भागमा रमाउने चराचुरुङगी देख्न सकिन्छ। उपरदाङगढी नजिकै रहेको चिसापानीटार चरा अबलोकनको लगि राम्रो स्थानको रुपमा बिस्तारै प्रसिद्धि कमाउदै गईरहेको पाईन्छ। चितवनको शक्तिखोरबाट र काउलेबाट पहाडी मोटरबाटोबाट सहजसगै उपरदाङगडी पुग्न सकिन्छ। यस स्थलबाट चितवन जिल्लाका समथर भू-भागहरु सबै छर्लङग देख्न सकिन्छ। चेपाङ र गुरुङ जातिको पातलो बस्ती यसको बरपर रहेको पाईन्छ। उत्तरी भागमा भीमकाय पहाड, मन हर्ने हिम श्रृखला, दक्षिणी भागमा चितवन उपतयकाको सुन्दर दृश्यले सबैको मन लोभ्याउछ। यहा आउने पाहुनाहरुको लागि पैदल मार्ग ( ट्रेकिङ रुट ) निर्मित तुल्याएको छ। हुग्दी हुदै हात्तिबाङ, सिराईचुली, जयन्दला, गढी, शक्तिखोर निस्केर चितवन राष्ट्रिय निकुञ्ज सम्म पर्यटकहरु पुग्ने गर्छन। पृथ्वीराजमार्गको फिस्लिङ बजारबाट मोटरबाटोबाट उपरदाङगढी पुग्न सकिन्छ।
तीन फुट चौडाई तथा छ फुट उचाई भएको प्रवेशद्धार रहेको गढीभित्र कोत घर, कालिका र सिद्धबाबाको प्रतिमा, ईनार लगायतका संरचनाहरु रहेका छन। ढुंगा, माटो र चुनबाट निर्माण गरिको गढीको बाहिरी भागको मोटाई तीन फिट रहेको छ। गढीमा नौ वटा सेन्ट्रीपोष्ट छन। लगभग ३ फिट बाक्लो पर्खाको चारै दिशातर्फ तोप पडकाउने उद्धेश्यले निर्मित ९ वटा खुल्ला झ्यालहरु बनाइएको छ। चारैतिरबाट गहिरो नहरले घेरिएको यो किल्ला ढुंगाको ठूला टुक्रा, चुन र माटोले बनाइएको छ। उत्तरी मोहडमा प्रबेशद्धार छ भने बीच भागमा इनार र हतियार भण्डार गर्ने कोत घर छ। चारैतिर भिरालो जमीन र बीचमा रहेको थुम्को गढीको विशेषता हो । यो गढी ६ सय ३९ वर्ग मिटरमा फैलिएको छ ।