अकला मन्दिर

पृथ्वीराजमार्गको धयेरेबाट ३ किलोमिटर दक्षिण दिशामा पर्ने तन्हूँ जिल्लाको माग्दे गाउँपालिका वडा नं ३ किलचोकमा रहेको अकला मन्दिर यस क्षेत्रका प्रसिद्ध धार्मिक तीर्थस्थल मध्ये एक हो। मन्दिरभित्र रहेको विशाल शिलालाई परापूर्वकालदेखि नै अकलादेवीका रुपमा पूजाआजा चलन रहेको छ ।  

यो देवीको प्राकृतिक स्वरुपमा रहेको शिलामै कुँदिएका मूर्तिसँगै सिंह र नन्दी एवं विभिन्न देवी देवताका आकर्षक मूर्तिका आकृतिले यहाँ आउने भक्तजनहरुको मनै हर्दछ। मनले चिताएको पुग्ने विश्वासका कारण तनहुँसहित कास्की, स्याङ्जा, लमजुङ गोर्खालगायतका स्थानबाट दर्शनार्थी आउने गरेको पाईन्छ। मन्दिरमा शङ्खघण्ट आफैँ बज्ने विश्वासका कारण यसको महिमा अतुलनिय देखिन्छ। मन्दिरभित्र रहेको बिशाल शिलालेखलाई आदिशक्तिको रुपमा सदियौ देखि स्थानीय आदिबासी मगर जातिहरुले आफ्नो कुलायन देवीको रुपमा मान्दै पूज्दै आएको  पाईन्छ। मन्दिरमा पाठो, कुखुरा, हाँसको बली दिने गरिन्छ भने औशीको दिन पूजा चल्दैन।