माघे संक्रान्ति
सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण शुरु हुने भएकाले माघ १ लाई मकर सङ्क्रान्ति भनिन्छ । यही सङ्क्रान्तिको धार्मिक आस्थाका कारण त्रिशूली र कालीगण्डकीको संगम देवघाट सहित अन्य पबित्र नदीहरुमा ‘माघ स्नान’ गर्ने भक्तजनको घुइँचो लाग्छ। उत्तरायण शुरु हुने दिन गंगा स्नान, जप, तप, ध्यान, साधना गर्नाले जीबनको मुक्ति र शुद्धिको द्धार खोलिने बिश्वास गरिन्छ। त्यसैले माघे संक्रान्तिको दिन देबघाट, त्रिशुली, कालीगण्डकी, बागमती, इन्द्रायणी, त्रिवेणी, मुग्लिङघाट, बेनीघाट, रामशाह घाट लगायतका स्थानहरुमा माघे स्नान गर्न भक्तजनहरुको बाक्लो भीड लाग्ने गर्दछ। यी स्थलहरुमा माघे संक्रान्तिको दिन मेला पनि लाग्ने गर्दछ।
महाभारतका अनुसार भागिरथले सोही दिन गंगालाई पृथ्वीमा अबतरण गराई सागरमा मिलाएका थिए। त्यसैले यस दिन प्रयाग् र गंगा सागरमा गरिने पबित्र डुबुल्कीलाई महा स्नान भन्ने गरिन्छ। सूर्य दक्षिणबाट उत्तर लाग्दाको दिनलाई बैदिक दर्शन अनुसार पुण्य दिन मानिन्छ। यस दिनको महत्वलाई अन्य धर्मको शास्त्रमा समेत महत्वका साथ उल्लेख गरेको छ। उत्तरायण शुरु भए पछि शुभ कार्यहरु गर्न मूर्हत मिलेको मान्ने चलन छ। माघे संक्रान्ति धार्मिक महत्वका साथै सांस्कृतिक महत्वको रुपमा पनि यसको महिमा बिस्तारित रहेको छ। माघे संक्रान्तिका दिनलाई नेपालका आदिबासी मगर र थारु जातिले बिशेष चाडको रुपमा मनाउने गर्दछ। थारुहरुको नया बर्ष माघी यसै दिनदेखि शुरु हुन्छ। किरात समुदायका लिम्बु, राई,याक्खा र सुनुवार समुदायले माघे संक्रान्तिका दिनलाई नयाँ वर्षको रुपमा मनाउँछन । माघे संक्रान्तिसँगै किराती पात्रोमा संवत् फेरिने भएकाले माघ १ गतेकै दिन पूर्वी नेपाल थातथलो भएर देश विदेशमा पुगेका लिम्बु समुदायले किरात नयाँ वर्ष धुमधाम साथ मनाउछन् । किरात नयाँ वर्षलाई लिम्बु समुदायले कुसङ यले तङबे र राई समुदायले यले दङ भनेर मनाउँछन् । तामाङ समुदायको बसोबास रहेका केहि क्षेत्रहरुमा माघे संक्रान्तिलाई नया बर्ष ल्होछारको रुपमा मान्ने चलन पनि छ।