महा शिवरात्री
महाशिवरात्री हिन्दुको एक विशेष पर्व हो । हिन्दु क्यालेन्डर अनुसार फागुन कृष्ण चतुर्दशीको दिन शिवरात्री मनाइन्छ ।शिवरात्रीमा व्रत बस्नाले मनोकामना प्राप्त हुने मान्यता छ । शिवजीलाई प्रशन्न बनाउन अविवाहित नारीहरु बर्त बस्ने गर्दछन् । शिवरात्रीको दिन भगवान शिव र पार्वतीको बिहे भएकोले पनि यस दिनलाइ विशेष महत्वका साथ लिने गरिन्छ ।शिवरात्रीमा श्रद्धालुहरु रातभर जागा रहेर भगवान शिवको आराधना गर्छन्, भजन गाउँछन् । कतिपय रातभर उपवास गर्छन् । महिलाका लागि शिवरात्रीको विशेष महत्व छ ।अविवाहित युवती शिवको प्रर्थाना गर्छन् र असल पतिको कामना गर्छन् । विवाहित महिला आफ्ना पति र परिवारको मंगल कामना गर्छन् ।
धार्मिक मान्यता के छ भने, सृष्टिको प्रारम्भमा यसै दिन मध्यरात्रि भगवान शंकर ब्रम्हाबाट रुद्रको रुपमा अवतरण भएका थिए । प्रलयको बेलामा यसै दिन भगवान शिवले तान्डव नाच्दै ब्रम्हान्डलाई तेस्रो नेत्रबाट ज्वाला निकालेर समाप्त गरेका गरेका थिए । यसैले यस दिनलाई महाशिवरात्री वा कलरात्रि भनिन्छ । शिवका बिभिन्न स्वरुप र अदभूत शक्तिले गर्दा पनि अन्य देवताहरु भन्दा शक्तिको प्रतिकको रुपमा शिवलाई मानिदै आएको छ । शिवको पूूजा,उपासाना बिशेष गरि तीज, श्रावण महिना, माघे संक्रान्ति रमहाशिवरात्रीमा गर्ने गरिन्छ । शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्री, मोहरात्री, सुखरात्री र शिवरात्री नामक चार प्रमुख रात्रीमध्ये एक पवित्र पर्वका रूपमा पुराणहरूमा वर्णित छ । महाशिवरात्रीका दिन भक्तजनहरूले शुद्ध भई शिव मन्दिरमा पूजा,अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्दछन् ।यो दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठमन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गर्ने गरिन्छ । शिवको अर्थ कल्याण हो । त्यसैले भगवान् शिव कल्याणका प्रतिमूर्ति हुनुहुन्छ । शिवरात्रीलाई भगवान् शिवको प्यारो दिनका रूपमा पनि लिइन्छ ।
पौराणिक कथा अनुसार समुद्र मन्थन गर्दा निस्केको कालकुट विषलाई भगवान शिवले आफ्नो कण्ठमा राखी संसारलाई विनाश हुनबाट बचाउनु भएको कथा रुद्रीको महत्वसँग जोडिएको छ ।भगवान शिवसँग सम्बन्धित पौराणिक कथाहरुमा लिंग पुराणका अनुसार पार्वतीले शिवजीसँग तपाइको लागि सबैभन्दा उत्तम ब्रत बताउनु होस् भनी सोध्दा समस्त दान, यज्ञ, तपस्या, ब्रत आदिले प्राप्त नहुने पुण्य केवल शिवरात्रीको ब्रतले प्राप्त हुन्छ भनी शिवजीले भन्नुभएको कथा उल्लेख हुन आउँछ । शिबरात्रीको दिन देशभर रहेका शिबमन्दिरहरुमा पूजा पाठ हुने गर्दछ। यस दिन मुग्लिङ बजारस्थित प्रसिद्ध जलेश्वर महादेव धाममा मेला लाग्ने गर्दछ।